संस्कृत शिक्षाको लागि पोखरामा आकर्षण बढ्दै
पाेखरा | साउन १८, २०७९
पोखरा: इतिहासका पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन् ।
इतिहास अनुसार १८–१९औँ शताब्दीतिर कास्कीको उत्तरी भेग हालको अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा पिँढीमा विद्यार्थीलाई राखेर गुरुशिष्य परम्परा अनुसार संस्कृत तथा त्यससँगै जोडिएका वेद तथा चण्डी आदिको पठनपाठन हुन्थ्यो । त्यसै समयदेखि पाउँदुरसहित विन्ध्यवासिनी आसपासका क्षेत्रमा हुने गरेका पठनपाठनका कारण कास्की शिक्षाको केन्द्र जस्तै बनेको थियो ।
पाउँदुरमा पौडेल थरका गुरुले आफ्ना शिष्यहरूलाई पिँढीमा राखेर पढाउने भएकै कारण पोखराको शैक्षिक विकास पिँढी पाठशालाबाट सुरु भएको यस क्षेत्रका अध्येताहरू बताउँछन् । तत्कालीन समयमा विन्ध्यवासिनी र आसपासमा पराजुली तथा रेग्मी थरका विद्वानले गुरुशिष्य परम्पराअनुसार नै पठपाठन गराएइका कारण देशका विभिन्न स्थानबाट पोखरामा पढ्नका लागि विद्यार्थी आउने गर्दथे । त्यसै बेलादेखि शिक्षा नपाए काशी कि कास्की भन्ने प्रचलन भएको अनुमान गरिन्छ । पछिल्ला समयमा आधुनिक शिक्षाको नाममा संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएका अवस्थामा पोखरामा भने यसप्रतिको आकर्षण घटेको देखिदैन ।
संस्कृत पढ्नकै लागि देशका विभिन्न स्थानबाट भीमकालीपाटन बगरस्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्यार्थी आउने गरेका छन् । संस्कृत प्रेमीको सक्रियतामा २०५० सालमा स्थापित यो विद्यापीठ २०५३ सालमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को आङ्गिक क्याम्पस बनेको थियो । त्यस्तै पोखराको संस्कृत माध्यमिक विद्यालय, चिसाखोला विद्याश्रम, नारायणस्थान, परोपकार सङ्घ ढुङ्गेसाँघु, राधाकृष्ण गुरुकुल विद्याश्रम लामेआहाल, विन्ध्यवासिनी, गुप्तेश्वर महादेव गुफालगायतका स्थानमा संस्कृत विषयमा विद्यालय तहसम्मको पठनपाठन भइरहेको छ ।
विन्दुवासिनी संस्कृत विद्यापीठमा फलित ज्योतिष, साहित्य तथा संस्कृत व्याकरण विषयमा चार वर्षे शास्त्री तहको पठनपाठन हुँदै आएको छ । विद्यापीठमा प्राक्शास्त्री समेत गरी करिब १०० सङ्ख्यामा विद्यार्थी अध्ययन गरिरहेको विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मी बताउनुहुन्छ । विद्यापीठमा विभिन्न जातजातीका विद्यार्थी अध्ययन गरिरहेका छन् ।
संस्कृत शिक्षामा अनुसन्धानको आवश्यकतालाई दृष्टिगत गरी विद्यापीठले अनुसन्धानात्मक गतिविधिलाई पनि प्राथमिकताका साथ अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
विद्यापीठमा अनुसन्धानात्मक कार्यलाई जोड दिँदै अनुसन्धान व्यवस्थापन समितिमार्फत अनुसन्धानात्मक जर्नल निकाल्न थालिएको प्रचार्य डा रेग्मीले बताउनुभयो । विद्यापीठमा आचार्य(स्नातकोत्तर) तहको पठनपाठनको तयारी गरिएको छ । पोखरामा औपचारिकरुपमा विसं १९५८ मा देव शम्शेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ ।
विद्यार्थीको अभावमा देशका विभिन्न स्थानका संस्कृत विद्यालय बन्द हुने अवस्थामा पुगेपनि पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बर्सेनि बढ्दो छ । विद्यालयमा हाल २०० भन्दा बढी सङ्ख्यामा विद्यार्थी पढिरहेको विद्यालयका प्रधानाध्यापक गोविन्द सिग्देलले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनतरत विद्यार्थीलाई कक्षा ५ देखि माथि आवासीय सुविधा प्रदान गरिएको उल्लेख गर्दै उहाँले हाल करिब २० देखि ३० जनासम्म विद्यार्थीले आवासीय सुविधा लिएको बताउनुभयो ।
विद्यालयमा ब्राह्मण मात्र नभइ महिला तथा दलित समुदायका विद्यार्थी अध्ययन गरिरहेका छन् । गुणस्तरीयतालाई लक्षित गरी विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाटै पठनपाठन सुरु गरिसकेको छ । संस्कृत माविमा अध्ययन गर्नेले कक्षा ६ भन्दा माथि कूल ८०० पूर्णाङ्मध्ये २०० अङ्कको मात्र संस्कृत पढ्नुपर्छ । अन्य साधारण माविमा जस्तै हो भन्ने आम जनमानसमा जानकारी गराउन नसक्नाले पनि संस्कृत शिक्षाप्रति अझै विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्न नसकेको यस क्षेत्रका जानकार बताउँछन् ।
विद्यालयमा कक्षा ११ र १२ सम्मको पठनपाठन भइरहेको छ । विगतमा संस्कृत केवल ब्राम्हण समुदायका ले मात्रै पढ्ने भनिए पनि पछिल्ला समयमा सबै जातजातीको यसतर्फ आकर्षण बढेको छ । विद्यालयमा करिब ५० प्रतिशत ब्राम्हण समुदायका छन् भने ५० प्रतिशत दलित तथा जनजाती समुदायका रहेको प्रधानाध्यापक सिग्देलले जानकारी दिनुयो । समाजमा नैतिकता, सदाचारको खडेरी पर्दै गएको अवस्थामा पछिल्लो समयमा संस्कृत शिक्षाको आवश्यकता तथा महत्व बढ्दै गएको देखिन्छ ।
जिल्लामा सञ्चालित गुरुकुल तथा विद्याश्रमको पठनपाठनकोस्तर राम्रो रहेको जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले बताउनुभयो ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

